नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेश हुने

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेश गर्ने निर्णय गरेको छ।

पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरूले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एक मात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिनेछ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि दिएको छ।

गत वैशाख ३१ गतेसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले यही जेठ १० गतेसम्म नयाँ र पुरानो संगठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ। आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ।

 

Comments are closed.