नेपाली नाटकमा विशेष विमर्श सम्पन्न

काठमाडौं । कविडाँडा साहित्य समाज, चितवनले काठमाडौंस्थित सर्वनाम थिएटरसँग सहकार्य गर्दै एक दिने ‘राष्ट्रिय नाटक विमर्श’ सम्पन्न गरेको छ । शनिबार सर्वनाममा आयोजित कार्यक्रममा कविडाँडा साहित्य समाजले चर्चित नाटककार मनबहादुर मुखियालाई १० हजार नगद राशिसहित ‘कविडाँडा साहित्य सम्मान’ द्वारा सम्मानित गर्यो । सोही अवसरमा नाटककार अभि सुवेदीलाई ‘कविडाँडा विशेष सम्मान’बाट सम्मानित गरियो ।

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतीले ‘उत्तरवर्ती नेपाली नाटकको विकासक्रम’ तथा डा. अशोक थापाले ‘नेपाली रंगमञ्चमा नाट्यप्रविधिको विकासक्रम : लालटिनदेखि ल्यापटपसम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही अवसरमा ‘सीमान्तीकृत स्वरहरूको प्रतिबिम्वनमा नेपाली रङ्गमञ्च’ विषयमा परिचर्चा सम्पन्न भएको थियो । कार्यक्रमको अवधारणापत्र साहित्यकार महेश पौड्यालले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले बालकृष्ण समको विरासतलाई अषेश मल्लले निरन्तरता दिएको बताए । नाट्यकर्मी मनबहादुर मुखियाले विगतका दिनमा नाटक मञ्चनका अप्ठ्याराहरूको चर्चा गर्दै यसका आजका उपलब्धिहरू गौरवयोग्य भएको बताए । उक्त अवसरमा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले समाज साहित्यका सबै विधाप्रति उत्तिकै संवेदनशील भएको हुँदा नाटकलाई पनि आफ्नो चिन्तनको केन्द्रमा राखेको बताए । कार्यक्रममा सर्वनामका अशेष मल्लले पनि आफ्नो अवधारणा राखेका थिए ।

कार्यक्रममा समालोचक प्रा.डा. सावित्री कक्षपतीको ‘वाचिक अभिव्यञ्जना, प्रह्लाद नाटकका सन्दर्भमा’ शीर्षकको समालोचना ग्रन्थको लोकार्पण गरिएको थियो ।  कार्यक्रमको अन्त्यमा अशेष मल्ल लिखित ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटक मञ्चन गरिएको थियो ।

Comments are closed.