रात गयो,
बिहान आउला,
के–केन गरूँ झैँ कत्रो आस ।
तर खै?…
न मिर्मिर, न चिर्बिर
न गतिमा गति छ
न जीवनमै जीवन;
विरक्तिको बर्कोभित्र,
चिहानी सन्नझैँ
चुपचाप छ वातावरण ।
घरी–घरी भित्र असह्रय शूलको चस्को दिँदै
मृत्युको हातझैँ रिङ्दै छ
चिसो–चिसो बतास;
बिहानी मरेको बिहानलाई
एकटकले नियाल्दै छ
विह्रवल हुँदै अनायास;
निःशब्द सिमसिमे कोठामा
ओर्लिरहेछ आकाश ।
जीउभरि आँखैआँखा
ट्वाल्ल उघारी एकतमास
आँसु र हाँसोको सङ्गीतमय
बिम्झाइको विम्बजस्तै
ठडिइरहेछ प्रत्येक घाँस ।
निराश–निराशको तुवाँलोमा
पलाउँदै छिटफुट आस
आँधी कुरेझैँ अडिग/अचल
गुम्म–गुम्म परिवेश;
यो क्षण म देख्दै छु
प्रकृतिको क्यानभासमा
सिङ्गो मेरो देश ।
Comments are closed.