कवि निर्भीक जंगको एकल कविता वाचन सम्पन्न

काठमाडौँ । काभ्रेली युवाकवि निर्भीकजंग रायमाझीको एकल बाचन सम्पन्न भएको छ । उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा उनको एकल वाचन सम्पन्न भएको हो । ८ वर्षदेखि काठमाडौंमा रहेर साहित्य केन्द्रित गतिविधि गरिरहेका उनलाई सुन्न करिब २०० स्रोता कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रमको सुरुमा कवि विप्लव प्रतीकले निर्भीक कविता क्षेत्रमा अथाह सम्भावना भएको व्यक्तिको रुपमा चर्चा गरेका थिए ।
लामो समयदेखि काठमाडौंमा नजिकबाट निर्भीकलाई जानेको उल्लेख गर्दै उनले काव्यजगतमा चम्किलो नक्षत्रको रुपमा निर्भीकलाई हेरेको बताए । ‘युवाहरू भावना बग्छ भनिन्छ, तर भावनाबाटै राम्रो कवि जन्मिन्छ जो निर्भीकमा पाउँछु म’ उनले भने ।
कार्यक्रममा वरिष्ठ कवि श्रवण मुकारुङले निर्भीकको चटारो शीर्षकको कविता वाचन गर्दै निर्भीकका कविता लामो समय जीवित रहने टिप्पणी गरे । आफूले उक्त कविता समयसमयमा पढ्ने गरेको बताउँदै उनले उनका यी कविता सदाबहार पढिने बताए। ‘वर्तमान समयमा युवा कविमा निर्भीक बलियो हस्तक्षेप गर्ने स्रष्टा हो,’ उनले भने ।
यसैगरी अन्तिममा वरिष्ठ कवि तुलसी दिवसले एकभन्दा बढी पुस्तालाई जोड्ने क्षमता कविमा हुने, जुन निर्भीकका कवितामा आफूले पाएको भनाइ राखे । निर्र्भीकका कवितामा परिपक्वता हुने गरेको भनाइ उनको थियो ।

 

Comments are closed.