Trending Now

गुण एयरलाइन्सले तिर्न सकेन ६ करोड बक्यौता, जहाज लिलामी गर्ने क्यानको चेतावनी

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक संकटबाट उठ्न नसकेको गुण एयरलाइन्सलाई जहाज लिलामीको चेतावनी दिएको छ।दुई महिना अगाडि बैंक ग्यारेन्टी जफत गरेको प्राधिकरणले बक्यौता नतिरेपछि कम्पनीलाई जहाज लिलामीको चेतावनी दिएको हो। प्राधिकरणका एक कर्मचारीका अनुसार एयरलाइन्सले करिब ६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ।
एयरलाइन्स प्राधिकरणले एक वर्षअघि गरेको वित्तिय अडिटमा फेल भएको थियो। त्यसपछि एयरलाइन्सलाई उडान संचालनमा प्रतिबन्ध लगाइएको थियो।‘गुण एयरलाइन्सको उडान इजाजतपत्र जफत र लिलामी बाहेकको विकल्प छैन। यसका लागि कमिटी गठन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छौं,’ ती कर्मचारीले भने।यो एयरलाइन्ससँग दुईवटा विचक्राफ्ट र पाँचवटा जेटस्ट्रिम गरी ७ वटा जहाज छन्।
‘गुणका जहाज उत्पादक कम्पनीले नै फेजआउट गरिसकेको छ। फ्लिट चेन्ज गर्ने उसको योजना पनि अगाडि बढेको छैन। हामीलाई बक्यौता नतिरेको अवस्था छ,’ उनले भने, ‘त्यसैले हामीले जहाज लिलामी कारबाही गर्ने चेतावनी दिइसकेका छौं।’प्राधिकरणले शिवानी एयरका तीनवटा जहाज लिलामी गर्न लागेको छ। त्यसका लागि प्राधिकरणले गठन गरेको मूल्यांकन कमिटीले काम गरिरहेको छ। कम्पनीसँग भरतपुर विमानस्थलमा तीन वटा अल्ट्रालाइट छन्।कम्पनीले डेढ वर्ष अगाडि बक्यौता तिर्ने कार्ययोजना पेस गरेपनि प्रतिनिधि नै सम्पर्कमा नआएपछि प्राधिकरणले लिलामीको प्रक्रिया अगाडि बढाएको हो। ‘अल्ट्रालाइट लिलामी गर्नका लागि मूल्यांकन कमिटीले काम गरिरहेको छ। छिट्टै दर्खास्त आह्वान गर्नेछौं,’ ती कर्मचारीले भने।शिवानी एयर एक दशक भन्दा लामो समयदेखि बन्द छ। कम्पनीले प्राधिकरणलाई सेवा शुल्कबापत साढे ५५ लाख रुपैयाँ तिर्न बाँकी छ।

Comments are closed.