कपिलवस्तु बस दुर्घटना : ज्यान गुमाउने १० जनाकै सनाखत, ६ जना एउटै नगरपालिकाका

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ । ज्यान गुमाउने मध्ये ६ जना एउटा पालिकाका रहेका छन् ।
सो दुर्घटनामा सात जना पुरुष र तीन महिलाले ज्यान गुमाएका थिए । ज्यान गुमाउने ६ जना कञ्चनपुरको भीमदत्त नगरपालिकाका रहेका छन् ।
ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त–१६ की सञ्जु थापा, भीमदत्त–२ का सुदीप भट्ट , भीमदत्त–९ का बिसनदत्त भट्ट र भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती रहेका छन् ।
त्यस्तै कञ्चनपुरको पुनर्वासकी विमलादेवी भट्ट, रौतहट औरही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालीजंग गण गोरुसिङ्गेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेशका सकिल मुसलमानको पनि दुर्घटनामा ज्यान गएको छ ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस गए राति सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Comments are closed.