गैरआवासीय नेपाल संघ र लुम्बिनीका नगरपालिकाबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता

काठमाडौँ । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासको लागि गैरआवासीय नेपाल संघले चार नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बुधवार वालुवाटरस्थित संघको कार्यालयमा लुम्बिनी प्रदेश अन्तर्गतका भगवान गौतमबुद्धको जन्मस्थल वरपर रहेका देवदह नगरपालिका, रामग्राम नगरपालिका,कपिलवस्तु नगरपालिका र लुम्बिनी नगरपालिकासँग लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासको लागि समझदारी पत्रका हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा गैरआवासीय नेपाल संघको तर्फबाट संघका अध्यक्ष बद्रि केसी र चारवटै नगरपालिका नगर प्रमुखहरूले हस्ताक्षर गरेका छन् । हस्ताक्षर पछि कार्यक्रममा बोल्दै संघका अध्यक्ष बद्री के.सी.ले ११० देशमा पुगेका ७० लाख नेपालीले नेपाल चिनाउनको लागि दुतको काम गरिरहेको बताए ।

उनले विदेशमा रहेका ७० लाख नेपालीले नेपाललाई मात्रै नभएर नेपालभित्र रहेका कला,संस्कृति र पर्यटनको सम्भावनालाई सम्बोधन गरी समृद्ध नेपाल बनाउनको लागि दुतको रूपमा कामगरिरहेको बताए । अध्यक्ष केसीले नेपालमा सबैभन्दा कम लगानी गरेर छोटो समय सफलता हासिल गर्न सक्ने क्षेत्र पर्यटन भएको बताए ।

उनले नेपाललाई प्रकृतिले विश्वको सबैभन्दा धनी देश बनाएको दाबी गरे । अध्यक्ष केसीले नेपालको संस्कृति र प्राकृतिलाई विश्वमा प्रवर्द्धन गरी बेच्न सकिने धारणा राखे । उनले नेपालको प्राकृतिक र संस्कृतिलाई विदेशी पर्यटन ल्याएर बेच्न सक्यो भने मात्रै मुलुकको समृद्धि हुने जिकिर गरे । लुम्बिनीको बुद्ध सर्किटको इतिहासलाई व्याख्या गर्नसके चार नगरपालिकामा एक साता पर्यटक घुम्नसक्ने सम्भावना रहेको बताए ।

नेपाल सरकार तथा स्थानीय तहहरुले त्यो ठाउँ बनाउन नसकेको भनाई थियो । उनले गौतम बुद्धको देश भनेर ७० लाख नेपालीले प्रचार गर्ने बताए । उनले संघले काठमाडौँ केन्द्रित भन्दा पनि अब प्रदेश र स्थानीय तहसम्म पुग्ने प्रतिबद्धता जनाए ।

उनले संघले छोटो समयमा काम गरेर देखिने गरी काम गर्नसक्ने ठाउँ भनेको लुम्बिनी सर्किट रहेको बताए । गौतम बुद्धको जन्म स्थलको विकास र प्रवर्द्धन गर्ने जिम्मा बुद्धका अनुयायी र बुद्ध धर्मावलम्बीको पनि हो भन्ने काम गैरआवासीय नेपालीले मात्रै गर्नसक्ने अवस्था रहेको बताए ।

गैरआवासीय नेपाली संघले लुम्बिनीको पर्यटन प्रवर्द्धनको लागि पूर्वाधार क्षेत्रमा पनि लगानी जनाएको छ । लुम्बिनी सर्किटमा सुविधा सम्पन्न पर्यटन पूर्वाधार पनि बन्न आवश्यक रहेको भन्दै चारै स्थानीय तहरुसँग हातेमालो गरेर संघ अघि बढ्ने संघले प्रतिबद्धता जनाएको छ ।

Comments are closed.