गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार’ प्रदान

काठमाडौँ, १४ चैत २०८० । नियात्राकार गीता रेग्मीलाई ७५ हजार राशीको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले सो पुरस्कार स्रष्टा गीता रेग्मीलाई हस्तान्तरण गरेको हो । आज काठमाडौँको बागबजारमा आयोजित एक समारोहकाबीच नियात्राकार रेग्मीको २०७८ सालमा प्रकाशित नियात्रा कृति ‘प्रशान्तको तीरैतीर’ का लागि प्रतिष्ठानले सो पुरस्कार अर्पण गरेको हो ।

अनेवा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्यको सभाध्यक्षमा भएको सो कार्यक्रममा बेलायतबाट आएका प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटा, समीक्षक हेम भण्डारी लगायतको पुरस्कार अर्पण समारोहमा आतिथ्यता रहेको थियो ।

पुरस्कार अर्पण गरेपछि बोल्दै सभाध्यक्ष तथा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्यले नियात्रा विधामा निरन्तर क्रियाशील रहेकोले गीता रेग्मीलाई यो पुरस्कार अर्पण गरिएको बताइन् । कुनै पनि विधामा निरन्तर क्रियाशील रहने स्रष्टालाई यो पुरस्कार दिइँदै आएको उनले सुनाइन् । नियात्रा विधामा पनि पछिल्लो समय धेरै कृति आइरहेको उल्लेख गर्दै नाटक विधाका लेखक नै कम भएको त्यसमा पनि नारी लेखक अत्यन्तै कम भएको उनले बताइन् । नाटक लेखनमा ध्यान दिन पनि उनले नारी स्रष्टालाई आग्रह गरिन् ।

प्रतिष्ठानले सन् २०१३ मा सर्वप्रथम तत्कालीन सांसद शान्ता चौधरीलाई यो पुस्कार अर्पण गरेको थियो । यो पुरस्कार पाउने गीता छैठौँ स्रष्टा हुन् । यसअघि ‘कमलरीदेखि सभासदसम्म’ कृतिका लागि शान्ता चौधरीलाई, सन् २०१५ मा ‘युवा पत्रकार’ का रुपमा नारायण अमृत र लेनिन बञ्जाडेलाई, सन् २०१६ मा ‘करौडौ कस्तुरी’ का लागि अमर न्यौपानेलाई, सन् २०१९ मा ‘गोर्खा’ कृतिका लागि कैलाश लिम्बुलाई यो पुरस्कार प्रदान गरिएको छ ।

प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले एउटै विधामा लामो समयसम्म समर्पित भएर लेखिरहनु ठूलो कुरा भएकोले गीता रेग्मीलाई प्रतिष्ठानले सम्मान गरेको बताए । रेग्मीलाई सम्मान गर्न पाएकोमा संस्था पनि गौरवान्वित भएको उनले बताए ।
सम्मानीत स्रष्टा र कृतिको बारेमा बोल्दै समीक्षक हेम भण्डारीले नियात्रा मात्रै नभएर कविता, कथा र उपन्यास लेखनमा पनि गीता रेग्मी सक्रिय रहेको सुनाए । उनका परिचय कथासंग्रह २०६५, पुस्तान्तर (संयुक्त कथासंग्रह) २०६६, ज्यातिका युगीन स्वरहरु (संयुक्त कवितासंग्रह) २०६७, पश्चिमाहरुको देशमा नियात्रासंग्रह २०६९, पत्थरैपत्थर नियात्रासंग्रह २०७४ र प्रशान्तको तीरैतीर नियात्रासंग्रह २०७८ प्रकाशित भइसकेको उनले बताए ।

कृतिमा रहेका नियात्रा काठमाडौँबाट सुरु भएर काठमाडौँमै आएर टुङ्गिने भए पनि अष्ट्रेलियाका नियात्रा धेरै रहेको उनले बताए । कृतिमा विदेशलाई नेपालीले हेर्ने नजर, विदेशको मोह, विदेशिने संस्कृति, डायस्पोराको चेतना आदि विषयलाई गहन गरी उठान गरेको उनको भनाई छ ।

पुरस्कार ग्रहण गरेपछि बोल्दै गीता रेग्मीले पुरस्कारका लागि योग्य ठहर गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरिन् । पुरस्कार ग्रहण गरेपछि चुनौति थपिएको भन्दै उनले यो जिम्मेवारी वहन गर्न सक्ने नसक्ने दोधारमा रहेको उनले बताइन् ।

लण्डन निवासी विकल चन्द्र आचार्य प्रतिष्ठानका अध्यक्ष र जयालक्ष्मी राई महासचिव रहेका छन् । यो प्रतिष्ठान सन् २०१२ मा स्थापना भएको हो । यसले विभिन्न विधामा पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ ।

Comments are closed.