काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रदेश इञ्चार्जहरूलाई पदमुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रदेश इञ्चार्जको भूमिका सम्हालेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो । पार्टीका अनुसार खाली रहेका प्रदेश इञ्चार्ज पदहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिनेछन् ।
प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका अधिकांश नेताहरू पार्टीको सचिवालय सदस्य पनि हुन् । आगामी २१ फागुनको प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै उनीहरूलाई प्रदेश इञ्चार्जको पदबाट हटाएर निर्वाचन केन्द्रित गतिविधिमा समायोजन गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ ।
सचिवालय बैठकको निर्णयमा भनिएको छ, “प्रदेश इञ्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने तथा प्रदेश इञ्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरिएको छ ।”गत वैशाखमा सातै प्रदेशका इञ्चार्ज तोकिएका थिए । तीमध्ये कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल रहेका थिए । कोशी इञ्चार्ज परियार हाल पार्टी छोडिसकेका छन् ।
सहमहामन्त्री विपिन आचार्यका अनुसार, निर्वाचन नजिकिएकाले नेताहरूलाई चुनाव केन्द्रित क्रियाकलापमा जिम्मेवारी दिने उद्देश्यले प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।






