त्रिशूलीमा वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

काठमाडौं । चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित आएको १२ सदस्यीय भारतीय टोलीले आज बिहान करिब १० बजेदेखि खोजी सुरु गरेको हो ।
नेपाल सरकारको आग्रहमा भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोली शनिबार चितवन आएको थियो । सो टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा घटना विवरणबारे जानकारी लिएको थियो । सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा गएराति बसेको भारतीय टोली आज बिहानदेखि खोजी कार्यमा खटिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोली एक सातासम्म नेपालमा रहने छ ।खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुणाल तिवारीले भारतमा पनि धमिलो र उच्च वहाबका नदीमा खोजतलास गरेको भन्दै यहाँ काम गर्न पनि समस्या नहुने बताए ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा बिहान करिब साढे ३ बजे खसेको पहिरोमा परेका थिए । ती दुवै बस पहिरोसँगै त्रिशूली नदीमा खसेर वेपत्ता भएका थिए ।दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । गत शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

Comments are closed.