एपीएफ ५ विकेटले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले एपीएफलाई ५ विकेटले पराजित गरेको छ ।प्रधानमन्त्री कपको इतिहासमा एपीएफमाथि पहिलो जित हात पार्ने क्रममा २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।मधेशलाई जिताउन मध्यक्रमका ब्याटर रुपेश सिंह, पवन सराफ र निरज यादवले अर्धशतकीय पारी खेले । पवन र निरजले चौथो विकेका लागि ५९ रनको साझेदारी गरे । ४ चौका र ५ छक्का हानेका पवन ६४ रनमा आउट भए ।
त्यसपछि निरज र रुपेशले पाँचौ विकेटका लागि ८७ रनको अर्को साझेदारी गरे । निरज ५२ रनमा आउट भए भने रुपेश ७२ रनमा नट आउट रहे । रुपेशले ४ चौका र ३ छक्का हाने ।यसअघि ओपनर मयान यादव २ रनमा आउट भए पनि अर्का ओपन अनिल शाहले २९ रन बनाएका थिए । अभिषेक तिवारी १३ रनमा अविजित रहे ।एपीएफका लागि रमेश कुर्मी र रोहित पौडेलले समान २/२ विकेट लिए । मौसम ढकालले १ विकेट लिए ।ब्याटिङ गर्दा अविनाश बोहोरा घाइते भएपछि एपीएफलाई बलिङमा समस्या भएको थियो र जसको असर नतिजामा नै देखियो ।यसअघिका दुई खेलमा ५ विकेट लिएका अविनाश ब्याटिङ गर्दा ४८.२ ओभरमा घाइते भएका थिए । उनी रिटायर्ड हर्ट भएपछि एपीएफको लगातार २ विकेट गयो । त्यसपछि फेरि ब्याटिङमा आए पनि अविनाश बलिङमा आएनन् ।यसअघि पहिला ब्याटिङ गरेको एपीएफले आसिफ शेखको ५९ रन मद्दतमा २४६ रन बनाएको थियो ।शेखले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । नट आउट रहेका अमर रौतेला अर्धशतक पूरा गर्नबाट १ रनले चुके । मधेशका लागि रुपेश सिंह र प्रदीप पासवानले समान ३/३ विकेट लिए । रञ्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।प्रतियोगितामा मधेशको यो दोस्रो जित हो । यसअघि कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो हार व्यहोरेको एपीएफले यसअघि बागमती प्रदेश र कोशी प्रदेशलाई हराएको थियो ।

Comments are closed.