नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितको थुनछेक बहस अर्को सातादेखि

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुको थुनछेक बहस अर्को सातादेखि गर्ने भएको छ ।

सो प्रकरणमा पक्राउ परेकाहरुको यो साता बयान सकेर अर्को साता थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौंले जनाएको छ । गत साता सबैको बयान सकेर आइतबारबाट थुनछेक बहस हुने भएको छ । अदालतले मंगलबार तीन जनाको बयान लिएको छ ।

मंगलबार तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिएको हो । यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान भएको थियो भने गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान लिएको थियो ।

सरकारी बकिलको कार्यालयले सो प्रकरणमा मुछिएका १७ जना प्रतिवादीलाई अभियोगपत्रसँगै पेस गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा सरकारी वकिलले ३० जना प्रतिवादीविरुद्ध गत बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध र सरकारी कागजात तथा दस्तखक कीर्ति लगायत कसुरमा मुद्दा दर्ता गरिएको छ ।

Comments are closed.