मोटरसाइकल चोरी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ   

  काठमाडौं, ३ पुस

मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं जरंखु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जै बहादुर बोहरा, काठमाडौं कोटेश्वर बस्नेहरू सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखिया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा सिङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले जै बहादुरलाई बा.प्र.-०२-०२३ प ९६९६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको र थप अनुसन्धानको क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र.०२-०३० प ४५८० नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

यसैगरी बाग्मती प्रदेश-०२-०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-९ मंगलबजार बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका कञ्चन खत्रीको उक्त मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले उनीहरूले उक्त मोटरसाइकलमा बा.प्र.०२-०१९ प ९५६४  नम्बर प्रयोग गरी ललितपुर ताल्छिखेलमा चलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल बुझाइएको छ ।

साथै यस आर्थिक वर्षको मंसिर मसान्तसम्म काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट हराई फेला परेका १ सय ९४ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको र १९ वटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा लिएका १९ जनालाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

Comments are closed.