नक्कली नेपाली रुपैयाँसहित दुई पक्राउ

वीरगञ्ज — प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार पक्राउ पर्नेमा भारत विहारको पश्चिमी चम्पारण बेतिया निवासी ३० वर्षीय क्यामुदिन मियाँ र वाराको प्रसौनी गाउँपालिका– २ निवासी ४० वर्षीय हलिमा खातुन रहेका छन् ।
पर्सा प्रहरी प्रवक्ता समेत रहेका थापाका अनुसार मियाँको साथबाट एक हजारको एक थान नक्कली नोट बरामद भएको हो भने खातुनको साथबाट एक हजारको १ सया २२ थान नक्कली नोट बरामद भएको हो । दुवैलाई नियन्त्रणमा लिई मुद्रासम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि थालिएको प्रहरीले जनाएको छ ।

Comments are closed.