अवैध ढंगले ल्याइएको ८८ लाख बराबरका सामान बरामद

कञ्चनपुर । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढंगले ल्याइएको ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरि ७७ लाख ५१ हजार ३४६ मूल्य बराबरको सामान बरामद गरि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नंं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए।बितेका दुई महिनामा भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार रुपैयाँ बराबरको किराना सामान, १६ लाख ५२ हजारको कपडा, १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र २० लाख ६३ हजारको अन्य अवैध सामग्री बरामद गरि नियन्त्रणमा लिइएको हो।
त्यसैगरी भारतबाट विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। फागुनयता सशस्त्र प्रहरीले चार सय किलोग्राम कुखुरा र १८७ किलोग्राम माछा बरामद गरि नष्ट गरेको छ।‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ १० लाख ५० हजार बढी मूल्यका सामान नष्ट गरियो,’ चन्दले भने, ‘अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरि कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ।’१२९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ।

Comments are closed.