काठमाडौं, ४ भदौ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित काभ्रे चौबास गाउँपालिका-८ बस्ने ५१ वर्षीया बिमला गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले त्रिशुलीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८२३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट करिब १ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ जलमुखी गाउँपालिका-२ बस्ने २९ वर्षीय पुष्कर तामाङ लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प १०९५ नमबरको मोटरसाइकललाई जाँच गर्ने क्रमममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटस्थित सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित साँगुरीगढी गाउँपालिका-९ हर्दिया बस्ने २० वर्षीय सनिल राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०४४ प ३४१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक सनिललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट करिब १ सय ७२ केजी अवैध लागूऔषध गाँजा सहित डब्लुबी ११ इ ९०३३ नम्बरको ट्याङ्करका चालक भारत घर भएका ४४ वर्षीय लाल बिहारी यादवलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी उक्त ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङ्करको तेल हाल्ने भागमा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिरहा, लहान नगरपालिका-१९ कटहाचोकबाट नियन्त्रित लागूऔषध फेनरागन १ हजार एम्पुल, डाईजेपाम ४ सय ८७ एम्पुल र व्युप्रिनोर्फिन ४ सय ४८ एम्पुल सहित लक्ष्मीपुर पतारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय निरन्जन यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले स.५ प७७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक निरन्जनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपालिका-२० गण्डक नहर चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नुर्फिन ६ सय एम्पुल र नाईट्राभेट ३ सय ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी महुअवा थाना ग्राम पंचायत कोरैया-१ बस्ने ३२ वर्षीय चन्दन मिश्रा र कोरैया-२ बस्ने २५ वर्षीय धर्मजित कुशवाहा रहेका छन् । प्रहरी चौकी बसतपुरबाट खटिएको प्रहरीले बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.