गद्दारी गर्न अनुरोध र हात्तीलाई परालको बन्धन

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलेआम गद्दारी गर्न अनुरोध गर्नुभएको छ ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई प्रचण्डले यस्तो अनुरोध गर्नुभएको हो । एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीलाई गठबन्धनको मुख्यमन्त्री भन्दै प्रचण्डले सरकारमा एमालेलाई नल्याउन, गठबन्धनलाई मात्र राख्न भन्नुभएको हो ।

चितवन पुगेर प्रचण्डले कार्कीलाई गठबन्धनको मात्र सरकार बनाउन, एमालेलाई गद्दारी गर्न सल्लाह दिनुभएको हो । केदार कार्की निर्दलीय हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई एमालेका सांसदहरूले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतले गरेको संविधानको व्याख्या अनुसार यो चरणमा बहुमत सिद्ध गर्ने प्रदेश सांसद् मुख्यमन्त्री बन्ने हो । यही हैसियतमा कार्की मुख्यमन्त्री बनेकाले सबैलाई समेटेर सरकार बनाउन मिल्छ ।

जसको समर्थनमा मुख्यमन्त्री बनेको हो त्यो पार्टीलाई सरकारमा सहभागी गराउनु कार्कीको नैतिक दायित्व पनि हो । यो नैतिक दायित्वबाट विमुख भएर गठबन्धनकै सरकार बनाउन अर्थात् आफ्नो पार्टीलाई सरकारमा लैजान प्रचण्डले खुलेआम भन्नुभएको हो ।

प्रचण्डले भने अनुसार कार्कीले एमालेलाई गद्दारी गर्नुहुन्छ कि हुन्न प्रष्ट भइसकेको छैन । कार्की नै मुख्यमन्त्री बन्ने अवस्था देखेपछि प्रचण्डले अन्तिम अवस्थामा कार्कीलाई नै समर्थन गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादीले पनि कार्कीलाई विश्वासको मत दिने भएको छ ।

कोशीमा भएको सत्ताको दुर्दान्त खेलले आफ्नो कुर्सी धरापमा परेपछि प्रचण्डले काठमाडौंमा अर्को राजनीतिक गोटीचाल गर्नुभयो । उहाँले एउटा चिर्कटोमा केही लाइन लेखेर संयुक्त विज्ञप्ति जारी गर्नुभयो ।

विज्ञप्तिमा प्रचण्ड सहित शेरबहादुर देउवा र शेखर कोइरालाको हस्ताक्षर छ । कुनै डायरीको पाना च्यातेर लेखिएको जस्तो कागजमा सत्ता गठबन्धनप्रति प्रतिबद्ध रहेको, यही गठबन्धनलाई अगाडि बढाउने उल्लेख छ ।

कोशीमा भएको कांग्रेस विद्रोह काठमाडौं आइपुग्ने चिन्ताले प्रचण्डले नै चिर्कटो विज्ञप्ति तयार पारेको बुझ्न गाह्रो छैन । यो चिर्कटो विज्ञप्तिको पालना कसरी हुन्छ भन्ने प्रष्ट छैन ।

कोशीको सत्ता उलटफेर देखेपछि प्रचण्डले शेखरलाई समेत सामेल गरेर विज्ञप्ति जारी गर्न पर्‍यो । वास्तवमा चिर्कटो विज्ञप्ति प्रचण्ड र देउवाका लागि होइन, शेखरका लागि हो ।

शेखरलाई गठबन्धनप्रति प्रतिबद्ध बनाउन विज्ञप्ति जारी गरिएको हो । तर, शेखर हिँडेको बाटो हेर्दा सो चिर्कटो हात्तीलाई परालले बाँध्न खोजेजस्तो मात्र देखिन्छ ।सनराइज खबर

Comments are closed.