कुम्भ मेलामा भागदौड, कम्तिमा १० जनाको मृत्यु

काठमाडौँ -भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ ।
गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् ।
भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।
मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।
तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् ।लगत्तै मुख्यमन्त्री योगी आदित्यनाथले संगम स्थानतर्फ जाने प्रयास नगरी गंगा किनारमा जो जहाँनेर छ, त्यहीँनेर स्नान गर्न आह्वान गरेका छन् । उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन पनि अनुरोध गरेका छन् ।

Comments are closed.