नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले आगामी साउन ७ गते राजधानी काठमाडौँमा ‘नइ रजत महोत्सव पदक’ समर्पण गरिने निर्णय भएको हो ।
नइ प्रकाशनले नइ रजत महोत्सव (२०५२—२०७७) एक वर्षसम्म मनाएको थियो ।
वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको संयोजकत्वमा विशिष्ट ढङ्गबाट सो महोत्सव मनाइएको थियो । रजत महोत्सवका बीच कोरोना (कोभिड)को महामारीका कारण नइ प्रकाशनले आफ्नो रजत महोत्सव सोचेजस्तै भनौँ अथवा भव्य रूपमा चाहिँ मनाउन पाएन । तर पनि तत्कालीन समयसँग लुकामारी खेल्दै भए पनि सन्तोषजनक रूपमा नै नइ रजत महोत्सव मनाइएको थियो ।
नइ प्रकाशनबाट नइ रजत महोत्सवका अवसरमा एक लाख रुपियाँ राशिको ‘नइ रजत वर्ष शोध पुरस्कार’को पनि स्थापना गरिएको छ । राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि गर्ने विशिष्ट शोधार्थीलाई शोधसँग सम्बन्धित व्यक्तित्वको नाउँ जोडेर ‘नइ रजत वर्ष शोध पुरस्कार’ समर्पण गरिनेछ ।
यसै गरी नइ रजत महोत्सवका अवसरमा २०७८ साल असोज २३ गते प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘महासमालोचक’को उपाधि र पाँच लाख रुपियाँ राशिका साथ ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गरिएको थियो ।
निम्न लिखित महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ समर्पण गरिने निर्णय भए तापनि अधिकांशलाई समर्पण गर्न बाँकी नै भएकाले आगामी साउन ७ गते ३७५ जनालाई ’नइ रजत महोत्सव पदक’ समर्पण गरिने छ ।
Comments are closed.