प्राध्यापक गोपीकृष्ण शर्मा ‘भीमदर्शन रोका स्मृतिकोषबाट सम्मानित

भीमदर्शन रोका स्मृतिकोषले एक समारोहको आयोजना गरी साहित्यकार तथा प्राध्यापक गोपीकृष्ण शर्मालाई भीमदर्शन रोका आदर्श गुरु सम्मान(२०७९ रु। ५०,००१ (पचास हजार एक रुपैयाँ) सहित समर्पण गरेको छ । यसै गरी कोषले गायत्री चेतना केन्द्र नेपाललाई आदर्श समाजसेवा सम्मान(२०७९ रु। ५०,००१ (पचास हजार एक रुपैयाँ) सहित समर्पण गरेको छ । सो समारोहमा कोषलाई आर्थिक सहयोग प्रदान गर्ने दया फाउन्डेसन तथा समाजसेवी एवम् गायक योगेश्वर अमात्यलाई कदरपत्र प्रदान गरिएको थियो । दुवै सम्मान र पुरस्कार प्रदान गर्दै समारोहका प्रमुख अतिथि डा. महेश्वर शर्माले आदर्श गुरु भीमदर्शन रोकाको नाउँको सम्मान र पुरस्कार अर्का आदर्श गुरु गोपीकृष्ण शर्मालाई प्रदान गरिनु अत्यन्तै खुसीको कुरा हो, योग्य व्यक्तिको नाउँको पुरस्कार योग्य पात्रलाई प्रदान गरिनु सार्थक भएको छ भन्नुभयो । गुरुका नाउँमा संस्था स्थापना गरेर यस्तो आदर्श कार्य गर्ने भीमदर्शन रोकाका शिष्यहरू प्रशंसाका पात्र हुन् भन्नुहुँदै प्रमुख अतिथि शर्माले गोपीकृष्ण शर्मालाई सम्मान गरेर यो सम्मान स्वयम सम्मानित भएको छ भन्नुभयो ।
सो अवसरमा गायत्री चेतना केन्द्र नेपालका अध्यक्ष केशव मरहट्ठाले गुरुको नाउँमा विद्यार्थीहरूले यसरी कार्य गर्नु ज्यादै प्रशंसायोग्य भएको बताउँदै सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीहरू बधाईका पात्र हुन भन्नुभयो ।
कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष अनिलमान महर्जनले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो। कोषका सचिव एवम् साहित्यकार यादव भट्टराईले पहिलो नेपाली मुक्तककार भीमदर्शन रोका गुरुका रूपमा पनि आदर्शवान् हुनुहुन्थ्यो भन्दै सम्मानित व्यक्तित्व गोपीकृष्ण शर्मा गुरुहरूका पनि गुरु भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी तथा गायक योगेश्वर अमात्य, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठलगायतले भीमदर्शन रोकाको व्यक्तित्व र योगदानको चर्चा गर्नुभएको थियो ।
कवि तथा गुरु रोकाले सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा अठार वर्ष शिक्षण गर्नुभएको थियो। सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशी, नूरगङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष डा। गोविन्द नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, वैजयन्ती द्वैमासिक पत्रिकाका प्रधान सम्पादक ठाकुर शर्मा भण्डारीलगायत नेपाली साहित्यका विशिष्ट साधकहरू एवम् भीमदर्शन रोकाका शिष्यशिष्याहरूको उपस्थिति रहेको र यादव भट्टराईद्वारा सञ्चालित सो कार्यक्रमको आरम्भमा भीमदर्शन रोका, रोकाकी धर्मपत्नी मीना रोका, सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीप्रति उपस्थित सबैले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

 

Comments are closed.