मधुपर्क सम्मानबाट तीन स्रष्टा सम्मानित

संस्थानको मासिक साहित्यिक प्रकाशन मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रम तथा मधुपर्क सम्मान २०८० समर्पण एक समारोह बिच काठमाडौंमा सम्पन्न भयो ।
यस वर्षको सम्मान कविता विधामा वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठलाई, गद्यतर्फ नेपाली आख्यानमा समर्पित वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई तथा बाल साहित्यमा सक्रिय छन्द कवि प्रभा भट्टराईलाई सम्मान गर्ने निर्णय गरिएको थियो ।
समारोहमा पुष्कर लोहनी तथा प्रभा भट्टराईलाई प्रमुख अतिथि नेपाली आधुनिक कविताका सूत्रधार आयामेली कवि वैरागी काइँलाले मधुपर्क सम्मान हस्तान्तरण गर्नु भयो । कवि कृष्णभक्त श्रेष्ठ स्वास्थ्यका कारण उपस्थित हुन नसक्नु भएकोले उहाँकै घरमा पु¥याउने गरी मधुपर्कका सम्पादक जयदेव भट्टराई प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित विशिष्ट साधकहरू बारे समालोचक महेश पौडेलले बोलेका थिए । साथै पुरस्कार चयन समितिका संयोजक गणेश रसिकले मधुपर्क र सम्मानित प्रतिभा बारे आफ्नो धारणा राखेका थिए ।
सम्मानित कवि प्रतिभा प्रभा भट्टराईले सम्मान प्राप्त गरेपछि आफ्नो अभिव्यक्ति दिंदै चङ्गा शिर्षकको कविता प्रस्तुत गरेकी थिइन् ।
सम्मानित आख्यानकार पुष्कर लोहनीले नेपाली साहित्यमा २०१० सालदेखि लेख्दै आएको र आफ्नो लेखनको मूलधार यौन साहित्य भएको बताए ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरले सभालाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम मधुपर्कका प्रधान सम्पादक जयदेव भट्टराईको सभापतित्वमा सञ्चालित भएको थियो भने कार्यक्रम सञ्चालन मधुपर्कका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बैरागी काइँलाले आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले आगामी वर्षदेखि पुरस्कारको रकम ३५ हजारबाट ५० हजार गर्ने र पुरस्कार रकममा कर नलाग्ने निर्णय बैठकमा राख्ने घोषणा गरे ।
कार्यक्रममा राजधानी तथा राजधानी बाहिरका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Comments are closed.