नेपालसँगको खेलमा विवाद गर्ने बंगलादेशीबलर तान्जिम हसन सकिबलाई आइसिसीले गर्यो कारबाही

काठमाडौं । जारी आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपालसँगको खेलमा विवाद गर्ने बंगलादेशी तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ । खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई आइसिसीले कारबाही गरेको हो ।

तान्जिमले अब आफ्नो म्याच फिस’को १५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।
उक्त घटनालगत्तै अम्पायरले बंगलादेशका कप्तान नाजुमल हसन सान्तोलाई बोलाएर केही भनेका थिए । रोहितसँग अनावश्यक विवाद गर्न खोजेको भन्दै समर्थकले सामाजिक सञ्जालमा तान्जिमको चर्को आलोचना गरिरहेका छन् । यद्यपि रोहितले भने उनीसँग खासै ठूलो विवाद नभएको प्रतिक्रिया दिए । उक्त खेलमा नेपाल २१ रनले पराजित भयो ।

Comments are closed.