भक्तपुर– भक्तपुरको ऐतिहासिक बिस्का जात्राको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। जात्राका लागि आवश्यक भैरबनाथको रथ निर्माण कार्यमा गति दिइएको छ।
गुठी संस्थान जिल्ला शाखा कार्यालय सूर्यविनायक, भक्तपुरका अनुसार दैनिक एक दर्जन शिल्पकारहरू रथ निर्माणमा संलग्न छन्।
चैत १७ गतेदेखि रथ निर्माणका लागि काठहरू जोड्ने कार्य सुरु गरिने जनाइएको छ। हालसम्म रथका पांग्रालगायतका आवश्यक भागहरू तयार भइसकेका छन्।
गुठी संस्थानकी कार्यालय प्रमुख खीमा ओलीका अनुसार ५५ हात लामो लिंगो जात्रास्थलमा पुर्याइसकिएको छ। जात्राका अन्य तयारीहरू पनि तीव्र गतिमा अगाडि बढिरहेको उनले जानकारी दिइन्।
भक्तपुरको मध्यभागमा रहेको ङातापोल (पाँचतल्ले) मन्दिरअगाडि काठकै प्रयोगबाट भैरबनाथको भव्य रथ निर्माण गरिन्छ। करिब ३० फिट अग्लो तीनतले प्यागोडा शैलीको यो रथमा ठूला चार पांग्रा रहने गर्छ। जात्राका क्रममा यसै रथलाई डोरीको सहायताले तानेर नगर परिक्रमा गरिन्छ।
विस्का जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ। प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि (यो वर्ष चैत २८) सुरु भई वैशाख ५ गतेसम्म जारी रहने परम्परा छ।
जात्राको पहिलो दिन भैरबनाथको रथलाई भक्तपुर नगरको तल्लो भागतर्फ तानिन्छ, जसलाई स्थानीय नेपाल भाषामा ‘द्य क्वो बिज्याइगू’ (देवता तल सवारी हुने) भनिन्छ।
वैशाख ५ गते रथलाई नगरको माथिल्लो भागतर्फ तानेर जात्रा समापन गरिन्छ। जसलाई ‘द्यो था बिज्याइगू’ (देवता माथि सवारी हुने) भनिन्छ। रथ तान्ने क्रममा सन्तुलन मिलाउन एकातिर बढी र अर्कातिर कम डोरी राख्ने परम्परा रहेको छ। पछिल्ला वर्षहरूमा भने दुवैतर्फबाट तान्ने चलन बढ्दै गएको छ।
जात्राको अर्को मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउने परम्परा हो। यस वर्षको लागि नयाँ दुई वटा लिंगो ल्याइएको गुठी कार्यालय भक्तपुरले जनाएको छ।
यो लिंगो प्रत्येक वर्ष चैत मसान्तको साँझ उभ्याइन्छ भने वैशाख १ गते ढालिन्छ। भक्तपुर नगरपालिका वडा नं. ५, ल्योसिंखेल भेलुखेलमा यो जात्रा भव्य रूपमा सम्पन्न गरिन्छ।
जात्रालाई भव्य बनाउन आवश्यक अन्य तयारीहरू पनि भइरहेको छ। गुठी प्रमुख ओलीका अनुसार लिंगो उठाउनका लागि आवश्यक डोरी भारतबाट मगाइएको छ।
जात्राको क्रममा भक्तपुर नगरकै पोटरी स्क्वायरमा पनि सानो लिंगो उठाइने परम्परा रहेको छ। हजारौं जात्राप्रेमीको उपस्थितिमा विस्का जात्रा यस वर्ष पनि भव्य रूपमा मनाइने अपेक्षा गरिएको छ।
Comments are closed.