चैत्र ३०, २०७८
काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानमा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ । बुधबार प्रज्ञा भवनको भानुभक्त कक्षमा ‘नयाँ वर्षमा नयाँ पुस्तक’ भन्ने सन्देशका साथ प्रदर्शनी सुरु गरिएको हो ।
प्रदर्शनी अवलोकन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पठन संस्कृति विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनी गरिएको बताए । उनले भने, ‘यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना सम्पूर्ण पुस्तक तथा पत्रिकाहरू एकै ठाउँमा उपलब्ध हुनेछन् । यसकारण पनि प्रज्ञाको पुस्तक प्रदर्शनीको विशेष महत्व छ ।’
दुई हप्तासम्म चल्ने प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानका नयाँ तथा पुराना सम्पूर्ण प्रकाशनका अतिरिक्त साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूसमेत उपलब्ध हुनेछन् । सार्वजनिक बिदाका दिनमा समेत पुस्तक प्रदर्शनी सञ्चालन हुनेछ । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
Comments are closed.