स्मृति ग्रन्थ ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक

नुवाकोट ।

एक कार्यक्रमको आयोजना गरि पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको कृति ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक गरिएको छ । राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणाले शनिबार पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै सांसद राणाले स्व.जीतसिंह खड्का निष्ठावान नेता भएको बताएका थिए । ‘उहाँसँग म पनि सँगै राजनीतिमा हिँडेको व्यक्ति हुँ,’ राणाले भने, ‘छातीमा हात राखेर भन्नुपर्दा उनीजस्तो निष्ठावान नेता पाइन्न ।’ यस्तै माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जीतसिंह खड्का साधारण जीवनशैलीको नेता भएको र उनी पञ्चायतका अन्य नेताभन्दा पृथक् रहेको प्रतिक्रिया दिए ।

‘उहाँ पञ्चहरुको बारेमा हामीले सुनेको भन्दा फरक खालको नेता थिए । मान्छेले कुन राजनीतिक प्रणालीलाई अवलम्बन गर्छ भन्ने महत्त्वपूर्ण कुरा हो । त्यसबाहेक राष्ट्रलाई हेर्ने दृष्टिकोण, जनतालाई हेर्ने दृष्टिकोण र विकास निर्माणको सवालमा हेर्ने दृष्टिकोण र जनतासँग कस्तो व्यवहार गर्छ भन्ने महत्वपूर्ण हुन्छ,’ सांसद तामाङले भने । खड्कामाथि लेखिएको उक्त पुस्तकमा राष्ट्रकवि माधव घिमिरे, राजेश्वर देवकोटा, मोहनविक्रम सिंह लगायत ३७ जनाले उनको व्यक्तित्वमाथि चर्चा गरेको पाइन्छ ।

Comments are closed.