माघ २०८० का दिन रुसी भवन काठमाडौँमा नेपाल – रुस संस्कृति र साहित्यका सेतु, लेखक, अनुवाद समालोचक, अनुसन्धानकर्ता स्व. कृष्णप्रकाश श्रेष्ठको सम्झनामा समर्पित “स्मृतिको तरेलीमा स्व. कृष्ण प्रकाश श्रेष्ठ” पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । तीस र चालीसको दशकमा उहाँले गर्नुभएको अनुवादको आँखीझ्यालबाट धेरैले सोभियत समाज चियाउने अवसर पाएका थिए ।
नेपाल रुस साहित्य समाजद्वारा आयोजित उक्त कार्यक्रम रुसी भवनका प्रतिनिधि सुशील सिग्देलको स्वागत मन्तव्यबाट शुरु भयो । साहित्यकार एवम कृष्ण प्रकाशका भाइ तेज प्रकाश श्रेष्ठबाट उहाँको पारिवारिक पृष्ठभूमि प्रस्तुत गरे ।
लेखक सम्पादक वसन्त थापाले स्व. कृष्ण प्रकाशलाई सन् १९७३ मा भेटेको र १४ वर्ष अघि पछिल्लो पटक भेटदा सोभियत संघ नरहेको, रुसमा भएको परिवर्तनसंगै सुरक्षा अवस्था खस्केको विषम परिस्थितिमा पनि उहाँ एकनिष्ठतापूर्वक जीवनभर लागिरहनु भएको देखेर त्यो उर्जा कहाँबाट आयो भन्नेमा आफु दङ्ग भएको र उहाँ वास्तविक कलमवीर, सांस्कृतिकदूत र कर्मयोगी हुनुहुन्थ्यो भन्नु भयो ।
रुसी साहित्य सम्बन्धि विश्लेषण प्रस्तुत गर्दै प्रा. त्रिपाठीले भन्नु भयो – सोभियत शिक्षा पद्धति मूलभूतरुपमा रुसी शिक्षा पद्धति हो र त्यसपछि थपिएका माक्र्सवादी आयाम हो । गद्य होस या पद्य कृष्णप्रकाश श्रेष्ठले नेपाली रुसी रचनाहरुको उत्कृष्ट सौरभमय अनुवाद गर्नुभयो । वहाँको लेख्ने छाँटकाट देवकोटा र लेखनाथ जत्तिकै छ । रुसीमा नेपाल नेपालीलाई चिनाउने काम गर्नुभएको छ । समालोचनाको पनि समालोचना रुसी साहित्य चिन्तन पद्धतिलाई आधार बनाएर कृष्णप्रकाशले “नेपाली समालोचना र समालोचकहरु” रच्नुभएको छ, जसमा वस्तुनिष्ठ विश्लेषण छ । त्यसमा अरुसबै अटाएका छन तर उनी आफै छुटेका छनु । इश्वर बराल भन्दा कम्ताको समालोचक वहाँ देखिनुहुन्न । कृष्णप्रकाश श्रेष्ठ महान भाषाविद, रुसी साहित्यविद थिए र उहाँका कृतिहरु नेपालको अनुसन्धानलाइ सही दिशातर्फ डोर्याउन उत्कृष्ट छन । कृष्णप्रकाश श्रेष्ठले नेपाली वागंमयमा ठूलो काम गरेर जानु भएको छ । वहाँको हाम्रो संझनाको बैकुण्ठमा वास होस भन्दै अन्त्यमा छोरी मरिनाको कविता वाचन गरेर सुनाउनु भयो ।
कार्यक्रमको अन्त्यमा नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा डा जंगब चौहानले स्व. कृष्णप्रकाश श्रेष्ठ सम्बन्धि आजभएको कुराकानीबाट आफु भावविहल भएको बताउदैं सोभियत संघको विघटन पश्चात मस्कोमा पटक पटक कृष्णप्रकाश संग भेट भएको सस्मरण गर्नुभयो । अब सोभियत युग एकादेशको कथा भैसकेको सन्दर्भमा पछिल्लो पटक वहाँले सन २०१७ मा १२ वटा नवप्रकाशित कृतिहरुको उपहार बोकेर जाँदा कृष्णप्रकाशको श्रीमती एलिनाले “ ए जंगब यत्रो विधी के बोकेर आएको ? सारा मान्छेहरु पैसाको पछि दौडेका छन, तिमी दुइजना पागलहरु किताबको पछाडि ” भनेको तीतो सत्य सुन्दा ओहो अब पहिलेको सरल जमाना त हैन नि भनी झल्यास्स भएको कुरा पोख्नु भयो । त्यो युगमा सोभियत संघमा जानु केवल शिक्षा प्राप्तगर्नु मात्र थिएन, त्यो प्रथम समाजवादी राष्ट्र् बाँकी विश्वभन्दा बेग्लै संसार बाट अनेकन अनुभव र संस्कृतिहरु पनि सिक्नु थियो । पछिल्लो पटक जाँदा भने सपनाहरु भंग भएजस्तै भान हुन्थ्यो । तर कृष्णप्रकाश निराश हुनुहुन्थेन । प्रतिकुल आर्थिक अवस्था र त्यहाँको सरकारले हात झिकेको बेलामा पनि वहाँले कु्ृतिहरु अगाडि बढाइराख्नु भएको थियो, अनुसन्धान जारीराख्नु भएको थियो । उनी ६ दशक भन्दा बढी मस्कोमा बिताउने साधक थिए र उनको परिवार नेपाल रुस मित्रताको प्रतिक थियो । हामीले वहाँसंगै मिलेर “संझनामा रुस” प्रकाशन गरेका थियौं र विमोचन गरेका थियौं जुनबेला वहाँ अस्पतालको बेडमा छटपटाइरहनु भएको थियो । वास्तवमा स्व. कृष्णप्रकाश नेपाल र रुस जोडने जनस्तरका हार्दिक कुटनीतिज्ञ थिए भन्दै सभाध्यक्ष जंगब चौहानले सबै पाहुनालाई सहभागिताको लागि धन्यवाद र हल उपलब्ध गराएकोमा रुसी भवनलाई दिदैं कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
नेपाल रुस साहित्य समाजका महासचिव वरिष्ठ साहित्यकार इ. चन्द्र कान्त आचार्य ज्यूको व्यवस्थापन, संस्थाका उपाध्यक्ष वरिष्ठ साहित्यकार इ. विष्णु बहादुर सिंह द्वारा आतिथ्य स्वागत र वरिष्ठ भूगर्भविद इ. आमोद मणी दिक्षीत बाट उदघोषित उक्त कार्यक्रम भव्य र सभ्य रुपबाट बाट समापन भयो ।
“सम्झनाको तरेलीमा स्व। कृष्ण प्रकाश श्रेष्ठ” ३० जना लेखकहरू को साझा सङ्कलन हो । यसका सम्पादकहरू प्रा डा जंगब चौहान, ई. चन्द्र कान्त आचार्य, ई. विष्णु बहादुर सिंह र ई. रामविन्दु श्रेष्ठ हुनुहुन्छ ।
Comments are closed.