काठमाडौँ –-कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘ पानीको परेड‘ सार्वजनिक भएको छ । कविद्वय डा.नवराज लम्साल र मोमिलालाई आफ्नो नविनतम् कवितासङ्ग्रह कवि अधिकारीले उपहार प्रदान गर्नु भएसङ्गै ‘ पानीको परेड’ सार्वजनिक भएको हो ।
कवि तथा गीतकार डा .नवराज लम्सालको बिचारमा कवि दिनेश अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामर्थ्यकै कारण उनकै पुस्ताबाट उनलाई अलग्याउने काव्यिक क्षमताका कवि हुन् र भाइबहिनी पुस्ताका लागि कविता पढ्ने पाठशाला पनि हुन् । कवि तथा निबन्धकार मोमिलाको शब्दमा कवि अधिकारी जीवनका असंगत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सिलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगर हुन् । नाम छोपेर पढे पनि उनका कविताको आत्मगत सौन्दर्यले पाठकलाई सम्मोहित पारिरहन्छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको दिन पुस्तक सार्वजनिक भएकोमा प्रशन्नता जनाउँदै कवि अधिकारीले उपस्थित सबैलाई नारी दिवसको बधाई र शुभकामना व्यक्त गर्नु भयो । सोही अवसरमा कविले पत्नी उषा अधिकारीलाई ‘पानीको परेड’ उपहार दिएर आजसम्मको आफ्नो कविता -यात्रामा उहाँको सहयोग अविस्मरणीय रहेको बताउनु भयो।
कवि अधिकारीले आफ्नो लिखित मन्तव्यमा संघर्ष र सौहार्दताको स्मरण गर्दै प्रकाशनको अर्थमा २०८१ साल चैतबाट आफ्नो कविता-यात्रा ५०औं बर्षमा प्रवेश गर्ने भएको र त्यसको पूर्व सन्ध्यामा नयाँ कृतिका साथ पाठक, स्रोता र शुभेच्छुकहरूका माझमा उपस्थित हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताउनु भयो ।सोही अवसरमा उहाँले आमा, अन्तिम तयारी, बिहे र अचानक एक दिन शीर्षकका आफ्ना कवितावाचन गर्नु भयो ।
पब्लिकेशन नेपालयले प्रकाशनमा ल्याएको ल्याएको प्रस्तुत कवितासङ्ग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालको अवधीमा लेख्नुभएका पूर्व प्रकाशित र अप्रकाशित समेत गरी सतहत्तर वटा कविताहरू संग्रृहित रहेको र यो उहाँको १७ औँ पुस्तक भएको जानकारी सहित प्रकाशन संस्थाकातर्फबाट बिमल आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
Comments are closed.