गीति नाटक ‘प्रतिज्ञा’ सार्वजनिक

जुम्ला — चन्दननाथ नगरपालिका-२ खोलीकोटका रामकृष्ण बुढ्थापा (परिमल जुम्ली)को गीति नाटक ‘प्रतिज्ञा’ सार्वजनिक भएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश कैलाश गुरुङले गीति नाटक ‘प्रतिज्ञा’ को विमोचन गरेर सार्वजनिक गरेका हुन् ।
न्यायाधीश गुरुङले यो गीति नाटकले समाजमा रहेका विकृतिहरुको उजागार गरेर सभ्य समाज निर्माणको अभियानलाई सार्थक निष्कर्षमा पुर्‍याउन मद्दत पुर्‍याउने बताए ।
‘नाटक भनेके व्यंग्य हो । व्यंग्यले समाजका कुरुप पक्षलाई बांगोटिंगो हिसावले उजागार गरिरहेको हुन्छ । तर त्यसभित्र सकारात्मक सन्देश लुकिरहेको हुन्छ, ’ उनले भने । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले प्रतिज्ञाले दिन खोजेको सन्देश गाउँबस्तीसम्म फैलिनुपर्ने बताए ।
२९ पेजको सो गीति नाटकमा समाजमा रहेको विभेद, सरकारी कार्यालयमा हुने चरम लापरबाही र विपन्नहरु माथि हुने अन्याय र अत्याचारको व्यंग्यात्मक हिसाबले प्रतिवाद गरिएको छ । दुर्गमका निरक्षरहरुले भोग्नु परेको पीडा बोलेको छ ।
लेखक रामकृष्ण बुढ्थापाले दुःख र समस्या आइपरे त्यसबाट बिचलित नभएर सकरात्मक सोच राख्ने हो भने त्यसबाट पनि लाभ लिन सकिँदोरहेछ भन्ने सन्देश फैलाउन चाहेको बताए ।
बुढ्थापाले यसअघि नानी र चैते बैशाखे नामक गीति नाटक लेखिसकेका छन् । गीति नाटक नानीले आदिपुरुष उपाधि सहितको सम्मानपत्र समेत पाइसकेको छ । खस साहित्य समाज जुम्लाका अध्यक्ष बुढ्थापा नेमकिपाका पुर्व केन्द्रीय उपाध्यक्ष, विगठित बाममोर्चाको सदस्य, विगठित चन्दननाथ गाउँ पञ्चायतको पहिलो प्रधानपञ्च हुन् ।
राजनीतिक यात्राका क्रममा उनले जुम्ला र डोल्पामा गरेर ७ बर्ष जेल जीवन बिताए । हाल उनी सफल किसान र साहित्यकाररुपमा चिनिन्छन् ।

Comments are closed.