पोखरा / कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण गरिएको छ। पोखरामा आयोजित दौँतरी कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको थियो ।
साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन् । प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध विषयमा लेखिएका ५७ ओटा कविता सो सङ्ग्रहमा समावेश गरिएका छन् ।
पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेल पेसाले शिक्षक हुन् । कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायतका साहित्यिक प्रभेदमा सिर्जनात्मक कलम चलाउने उनी समालोचनाका क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन् । त्यसबाहेक समसामयिक विषयका अखबारी लेखनमा पनि सञ्जीवको कलम चल्दै आएको पाइन्छ । जून ओर्लेको रात उनको दोस्रो साहित्यिक कृति हो । यसअघि वि.सं. २०७४ सालमा उनको पहिलो कृति ‘यानी’ मुक्तकसङ्ग्रह प्रकाशित छ ।
नयाँ कृतिलाई बजारमा ल्याएको हो अम्बर पब्लिकेशन, नयाँ दिल्लीले । नेपालमा वितरण व्यवस्थापन भने माया पब्लिकेशनले गर्ने छ । १०५ पृष्ठमा समेटिएको कृतिको मूल्य रु. २७५ रहेको छ ।
Comments are closed.