भैरहवा, २०८० । एक भव्य समारोहका बिच सिर्जना खनालको “उच्छ्वास” गजलसङ्ग्रह लोकार्पण भएको छ ।
शनिवार होटेल एसियन बुद्धमा साहित्यकारहरूको उपस्थितिमा प्रमुख अतिथि वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमीकाे प्रमुख आतिथ्यमा उक्त कृतिको विमोचन गरिएकाे हाे । कार्यक्रमका लगायत समीक्षक रुद्र ज्ञवाली साथै परिवारका सदस्यहरूले सयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए l
प्रमुख अतिथि बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका परिश्रमीले गजलसङ्ग्रहकी सर्जक सिर्जना खनालको साहित्यप्रतिको नियमित साधनाका कारण यो सङ्ग्रह प्रकाशन हुन सकेको बताए ।
सिर्जना खनालको यो तेस्रो कृति हो । यस अघि उनले कविता सङ्ग्रह र एक महाकाव्य प्रकाशन गरिसकेकी छिन् । सिर्जना खनाल यस क्षेत्रकी महाकाव्य लेख्ने एक मात्र नारी स्रस्टा हुन् ।
विमोचित कृतिको समीक्षा साहित्यकार रुद्र ज्ञवालीले गरेका थिए । समीक्षक ज्ञवालीले लेखिकाको प्रयासलाई प्रशंसा गर्दै कृतिमा देखिएका कमि कमजोरीलाई औँल्याएका थिए ।
कार्यक्रममा डिल्लीराज भट्टराई, रमेश समर्थन, कमल पोखरेलले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै स्रस्टाका गजललाई सुरज घिमिरे दिपशिखा, यज्ञलाल सुवेदीले गायन गरेका थिए । कार्यक्रमको संयोजन लिडरशिप स्किल्स डेभलपमेन्ट ट्रेनिंग नामक संस्थाले गरेको हाे । कृतिकार उक्त संस्थाकी सदस्य पनि हुन् । मंगल खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उपस्थितिलाई मिनिता थापाले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन साहित्यकार बसन्ता कोइराला गौतमले गरेकी थिइन् । यी दुबै संयोजन गर्ने संस्था लिडर शिप स्किल्स डेभलपमेन्ट ट्रेनिङका सदस्यहरू हुन् l
विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै उपस्थित व्यक्तित्वले उच्छवास सङ्ग्रहको प्रशंसा गर्दै स्रष्टालाई बधाई एवम् शुभकामना दिएका थिए ।
सर्जक सिर्जना खनालले सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समयको मागलाई मनन गर्दै गहन अध्ययनका साथ अगाडि बढ्दै साहित्य सृजनामा लाग्ने कुरा व्यक्त गरेकी थिइन् ।
Comments are closed.