पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

मकवानपुर — पत्रकार प्रताप विष्टलद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’विमोचन गरिएको छ । चेपाङ, वनकरिया समुदाय र गाडी बोक्नेहरुको अनुभव समेटिएको पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् । २०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आबद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ।

सांग्रीला पब्लिकेसनले प्रकाशन गरेको पुस्तकमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठ, साहित्यकार एवं प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झाले चर्चा गरेका थिए ।

चेपाङ समुदायको विषयमा राक्सिराङ गाउँपालिकाअध्यक्ष राजकुमार मल्ल र तुल्सी थापा तथा वनकरिया समुदायको अवस्थाबारे सन्तोषी वनकरियाले पुस्तक विमोचन समारोहमा जानकारी गराएका थिए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा पुस्तक विमोचन भएको थियो ।

Comments are closed.