काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ मुलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर–६ का ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका–६ की ४० वर्षीया अनिता बोहरा छन् । दुवैको घटनास्थलमै मृत्यु भएको सल्यानका डीएसपी नवीन कार्कीले बताए ।
दुर्घटनाका घाइतेलाई स्थानीय तथा प्रहरीले उद्धार गरेर उपचारार्थ प्रादेशिक अस्पताल तुलसीपुर पठाएका हुन् । बस सडकदेखि करिब ५५ मिटर तल खसेको छ ।
डीएसपी कार्कीका अनुसार गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटनामा परेको थियो । बसमा २१ जना सवार थिए ।
Comments are closed.