सान फ्रान्सिस्को: अमेरिकी बैंक क्यापिटल वन फाइनान्सियलले राष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक व्यवसाय ट्रम्प अर्गनाइजेशनसँग सम्बन्धित ३०० भन्दा बढी बैंक खाता बन्द गरेको जनाएको छ।
बैंकले अदालतमा दायर गरेको दस्तावेजमा खाता बन्द गर्ने निर्णय राजनीतिक कारणले नभई अवैध धन शुद्धीकरण (एन्टी–मनी लान्ड्रिङ) सम्बन्धी जोखिमको विस्तृत समीक्षापछि गरिएको उल्लेख गरेको छ। बैंकका अनुसार उक्त निर्णय एन्टी–मनी लान्ड्रिङ टोलीले महिनौँसम्म गरेको अध्ययन तथा बैंकको आन्तरिक नीति र नियामक निर्देशिकाअनुसार गरिएको हो।
क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनविरुद्ध मनी लान्ड्रिङ गरेको आरोप भने नलगाएको स्पष्ट पारेको छ। बैंकका अनुसार खातामा भएका केही कारोबार अमेरिकी बैंकिङ नियामकहरूले विशेष निगरानी गर्नुपर्ने प्रकृतिका देखिएकाले विस्तृत समीक्षा गरिएको थियो।
यता, ट्रम्प अर्गनाइजेशन र ट्रम्पका छोरा एरिक ट्रम्पले सन् २०२५ को मार्चमा फ्लोरिडाको संघीय अदालतमा मुद्दा दायर गर्दै बैंकले राजनीतिक आस्थाका आधारमा आफ्ना खाताहरू बन्द गरेको आरोप लगाएका थिए। उनीहरूले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन (क्यापिटल) मा भएको दंगापछि बनेको राजनीतिक वातावरणको प्रभावमा बैंकले यस्तो निर्णय गरेको दाबी गरेका छन्।
क्यापिटल वनले भने ट्रम्प अर्गनाइजेशनका आरोपहरू भ्रामक तथा आंशिक प्रमाणमा आधारित रहेको भन्दै मुद्दा खारेज गर्न अदालतसँग आग्रह गरेको छ।
यसअघि मियामीको संघीय अदालतले ट्रम्प पक्षका दुईवटा उजुरी खारेज गरिसकेको भए पनि संशोधित उजुरी दायर गर्ने अनुमति दिएको थियो। बैंकले पछिल्लो संशोधित उजुरीमा पनि अघिल्लै कमजोरी दोहोरिएको दाबी गरेको छ।







