पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

 

झापा – पूर्वमुख्यमन्त्री तथा काँग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण गर्नेहरूलाई मुद्दा दायर गरिएको छ ।
आक्रमणमा संलग्न नेपाल विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीहरू शिवसताक्षी- ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई- ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठमाथि अभद्र व्यवहार गरेको कसुरमा आज मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । अदालतसँग ३ दिनको म्याद लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको डीएसपी विष्टले जानकारी दिए ।
पूर्व मुख्यमन्त्री तथा काँग्रेस नेता थापामाथि हिजो साँझ कुटपिट भएको हो । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा साँझ करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक उनीमाथि कुटपिट भएको हो । बा १ झ ६५३ नम्बरको गाडीमा घर फर्किँदै गरेका अर्जुनधारा- ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका थिए । उनको देब्रे आँखा सुन्निएको थियो ।उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।
विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले सुरुङ्गा पुलनजिक डाइभर्सनमा ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । प्राधिकरणको गाडी र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

Comments are closed.