युगकवि सिद्धिचरण श्रेष्ठको १४३औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको १४३औँ जन्मजयन्तीका मनाइयो तथा उनको योगदानबारे चर्चा गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सह-आयोजनामा प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा बुधबार माल्यार्पणसहित युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्‍याएको सिर्जनात्मक र क्रान्तिकारी योगदान बारे परिचर्चा गरिएको हो । ७८ वर्षको उमेरमा कीर्तिशेष भएकी युगकविकी माहिली सुपुत्री सरिता श्रेष्ठ खैगोलीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्धिचरण श्रेष्ठलाई निरङ्कुश राणाशासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गरे ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ’विमल निभा’ ले युगकवि सिद्धिचरण श्रेष्ठका कवितामा पाइने युगीन चेतना र प्रभावबारे धारणा राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, युगकवि सिद्धिचरण प्रतिष्ठानका सदस्य डा।फणीन्द्रराज निरौला, प्राडा विश्वनाथ भण्डारी, युगकवि सिद्धिचरण प्रतिष्ठानका उपाध्यक्ष प्राडा मोहन लोहनी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलालगायतले कवि श्रेष्ठबारे चर्चा गरेका थिए ।

Comments are closed.