भ्यालेन्टाइन्स डे’मा बसन्त चौधरीद्वारा प्रणय कविता वाचन

काठमाडौं । साहित्यकार तथा उद्योगपति बसन्त चौधरी को ‘कवितासङ्ग बसन्त’ काव्य वाचन कार्यक्रम सम्पन्न भयो। काव्य वाचन पश्चात चौधरीका दुई कृति ‘मेरा गीत’ र जीवनमन्त्र लोकार्पण गरिएको थियो। कवि र गीतकारका रूपमा परिचित बसन्त चौधरीका डेढ दर्जनबढी कृतिहरू प्रकाशित भैसकेका छन् भने बसन्तको छवि प्रेमिल कविका रूपमा रहँदै आएको छ ।
प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का अवसर पारेर गरिएको उक्त कार्यकममा मंगलबार अपराह्न आफ्ना दर्जन बढी प्रणय कविता दर्शक स्रोताका लागि प्रस्तुत गरेर कार्यक्रम नै प्रणयमय बनाएका थिए । कविता वाचनको प्रारम्भमा आफू प्रेममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै उनले घृणा र युद्धबाट केही सिर्जना नहुने बताए ।
भावनका लहरहरूबाटै प्रेम कविता जन्मिने उल्लेख गर्दै चौधरीले भने, “प्रेम कविता लेख्न सजिलो छैन । तथापि, म कविताका माध्यमबाट छुट्टै प्रेममय संसार बनाउन चाहन्छु ।”
गिटारको सुमधुर सांगीतिक धूनसँगै उनले पहिलो कविता सुनाए ‘अलिक लजाइदेऊ’ शीर्षकमा । यस कविताबाट उनले मन बहकिने र यौवन छचल्किने प्रसङ्ग अभिव्यक्त गरे । उनको दोस्रो कविता ‘जब हामी टाढा हुन्छौँ’मा भेट्नु र मन मिल्नुको बयान थियो ।
प्रेम शाश्वत भएकाले प्रेम अनुभूत गर्न मात्रै सकिने भन्दै कवि चौधरीले ‘अद्वितीय प्रेम’ शीर्षकको कविता सुनाए । यसरी उनले तिम्रो माया, पहिलो पे्रमपत्र, अनन्त आनन्द, मृगनयनी, पराजित युद्ध, एक्लोपन, कस्तो कस्तो लाग्छ, स्मृतिको पहरा, बादल र राग अनुराग शीर्षकका प्रेमपूर्ण कविताहरू वाचन गरे ।
‘लभ इज इन द एयर’ थीम दिइएको काव्य वाचनको अन्त्यमा उनले ‘गजल’ प्रणयको जग भएको उल्लेख गर्दै यो प्रेम संवादको शक्तिशाली विधा भएको बताए । र, तरन्नुममा सुनाए एउटा गजल :
नरोक कोही अब प्रेमको धारा बग्न देऊ
चुपचाप किन नहोस् प्रेमको कुरा चल्न देऊ ।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण पाहुनाहरूले बसन्त चौधरीका दुई कृति ‘मेरा गीत’ र ‘जीवन मन्त्र–२’ एकसाथ सार्वजनिक गरे । मेरा गीत उनको नेपाली हिन्दी गीतहरूको सँगालो हो भने जीवनमन्त्र उक्तिसङ्ग्रह हो ।
कार्यक्रम सञ्चालक कवि राजेन्द्र शलभले चौधरीले स्थगित रहेको विश्व काव्य यात्रा यही कार्यक्रमबाट सुरु भएको जानकारी गराए । कवि गीतकार चौधरीले १३ वर्षअघि विश्व काव्य यात्रा सुरु गरेका थिए । उनले नेपालसहित २० वटा मुलुकमा नेपाली कविता वाचन गरेका थिए । कोभिडका कारण स्थगित उक्त कवितात्मक कार्यक्रम अबका दिनमा निरन्तर जारी रहने शलभले बताए ।

Comments are closed.