आज कृष्ण जन्माष्टमी: भगवान श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै,

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज परेको छ। आज श्री कृष्ण भगवान्श्रीको जान भएको मान्यता अनुसार कृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।


श्रीकृष्णले गोपिनी र राधासँगको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौंको गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

Comments are closed.