राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ |उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रही-आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा-लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।
जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ ।
Comments are closed.