काठमाडौं, पु्स १०। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष ले नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सांसदको हस्ताक्षर पेश गर्नुभए पछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रको समर्थन रहेको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल एक सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
त्यसको समयसीमा आजै साँझ ५ बजे सकिएको हो । सो समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गर्नुभएको थियो ।
Comments are closed.