बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अतिरिक्त भन्सार महसुल (ट्यारिफ) तनाव बढेको भएपनि २०२५ मा चीनले बाँकी विश्वसँगको व्यापारमा प्रशस्त बचत गरेको छ । गएको वर्ष चीनले झन्डै १२ खर्ब डलर व्यापार बचत गरेको छ । यो अहिलेसम्मकै धेरै हो । अमेरिकासँगको व्यापार र ट्यारिफ तनावका बीचमा ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूको अर्डर अन्य बजारतिर सारिरहँदा यो तथ्याङ्क बाहिरिएको हो ।
गएको वर्ष जनवरीमा ट्रम्प दोहोर्याएर ह्वाइट हाउसमा छिरेपछि अमेरिका र चीनबिच ट्यारिफ तनाव बढेयता चिनियाँ कम्पनीहरूले दक्षिण पूर्वी एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा व्यापार बढाइरहेका छन् । घरजग्गा बजारमा आएको मन्दी र घरेलु मागमा आएको सुस्तीबाट बच्न पनि चीनले निर्यात बढाउने नीति अपनाइरहँदा व्यापार बचतले कीर्तिमानी उचाइ छोएको हो ।
२०२५ भर चीनको व्यापार बचत ११ खर्ब ८९ अर्ब डलर रहेको बुधबार प्रकाशित भन्सारको तथ्याङ्कले देखाएको छ । यो भनेको साउदी अरब जस्ता विश्वका २० ठुला अर्थतन्त्रको जीडीपी बराबर हो । नोभेम्बरमा पहिलो पटक चीनको व्यापार बचत १० खर्ब डलर माथि उक्लिएको थियो । विश्व व्यापार वृद्धिको गति पर्याप्त नरहेको र चीनको विदेश व्यापारको लागि बाह्य वातावरण पनि गम्भीर र जटिल रहेको चीनको भन्सार मन्त्रालयका उपमन्त्री वाङ जुनले बुधबार पत्रकार सम्मेलनमा भने ।
यद्यपि, व्यापार साझेदारमा विविधीकरण गर्ने चीनको क्षमताले जोखिम निकै हदसम्म सहन सकेको पनि उनले बताए । डिसेम्बरमा चीनको निर्यात वार्षिक ६ दशमलव ६ प्रतिशतले बढेको छ । नोभेम्बरमा यो दर ५ दशमलव ९ प्रतिशत थियो । सो अवधिमा निर्यात ३ प्रतिशतले बढ्ने रोयटर्सको जनमत सर्वेक्षणले देखाएको थियो । डिसेम्बरमा आयात ५ दशमलव ७ प्रतिशतले बढेको छ । नोभेम्बरमा यो दर १ दशमलव ९ प्रतिशत मात्रै थियो । सो अवधिमा आयात शून्य दशमलव ९ प्रतिशतले मात्रै बढ्ने अनुमान गरिएको थियो । निर्यातमा भएको सुदृढ वृद्धिले कमजोर घरेलु मागको प्रभाव कम गर्न मद्दत गरेको पिनप्वाइन्ट एसेट म्यानेजमेन्टमा प्रमुख अर्थशास्त्री रहेका निवेई झाङ भन्छन् ।








Discussion about this post