विकल पौडेलका परिवार र ससुरालीमाथि सिआइबीको अनुसन्धान

काठमाडौं । भ्रष्टाचार मुद्दामा जेलमा रहेका सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलमाथि प्रहरीको केन्द्रीय अनुसन्धानले समेत अनुसन्धान अघि बढाएको छ ।
पौडेलले भ्रष्टाचारको पैसा हुन्डीबाट विदेश पठाएको खुलेपछि सिआइबीले छानविन थालेको हो । पौडेलविरुद्ध अख्तियारले चार वटा मुद्दा दायर गरिरहेको छ । जसमध्ये दुई वटामा उनी दोषी ठहर भइसकेका छन् ।अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । अख्तियारले चार महिना हिरासतमा राखेर उनलाई अनुसन्धान गरेको हो ।उनको मोबाइल र ल्यापटपका विवरणमाथि विस्तृत छानविन हुँदा उनका अवैध कारोबारहरू पत्ता लागेका हुन् । जस क्रममा उनले अमेरिकामा हुन्डीमाफर्त पैसा पठाउने र त्यसलाई बैंकिङ च्यानलबाट नेपाल ल्याएर शुद्धीकरण गरेको समेत खुलेको छ ।
अमेरिकामा बस्ने उनकी श्रीमती एलिना बस्नेत तथा साला एलिसराज बस्नेतको नाममा हुन्डीबाट पैसा पठाएको देखिएपछि यसमा विस्तृत अनुसन्धान गर्न अख्तियारले सिआइबीलाई पत्राचार गरेको हो ।सोही आधारमा सिआइबीले उनीमाथि अनुसन्धान अघि बढाएको छ । यसमा हुन्डी कारोबारमा संलग्न अन्य व्यक्तिहरू समेत तानिने सम्भावना छ ।
पौडेलको अमेरिकामा समेत घर र शेयर कारोबार छ । हुन्डीमार्फत पैसा लगेरै उनले खरिद गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।उनीविरुद्ध भ्रष्टाचारका चार मुद्दा दायर भएकोमा दुईमा दोषी ठहर भइसकेका छन् । सरकारी सेवामै रहँदा अमेरिकाको पिआर लिएको मुद्दामा विशेषले १४ जेठमा दोषी ठहर गरी एक वर्ष कैद सुनाइसकेको छ ।
८ जेठमा पौडेलसहित चारजनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ९ करोड ६२ लाख भ्रष्टाचार गरेको ठहरसहित फैसला सुनाएको थियो ।
पौडेलका कारण नेपाल सरकारलाई २५ करोड ४७ लाखभन्दा बढी नोक्सानी भएको ठहरसहित दुई वर्ष कैद सजाय सुनाएको थियो । प्रेस खरिदमै अनियमिततासम्बन्धि गत ३० वैशाखमा उनीविरुद्ध अर्को मुद्दा दायर भएकोमा त्यो भने विचाराधीन छ ।२०६१ सालमा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर पदबाट सरकारी सेवामा प्रवेश गरेका पौडेल २०७४ सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशनमा नियुक्त भएका थिए ।उनले ६२ करोड रुपैयाँ अवैध आर्जन गरेको दाबीसहित गत साता अख्तियारले मुद्दा दायर गरेको थियो । उनको दुबई लगायत ठाउँमा लुकाइएको सम्पत्तिको समेत खोजी भइरहेको अख्तियार स्रोत बताउँछ ।

Comments are closed.