काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस संसदमा सिट सङ्ख्याको आधारमा ठुलो पार्टी भए पनि काम नलाग्ने भएको बताउनु भएको छ ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले पुरानो पार्टी कांग्रेस अहिले माओवादी पुच्छर भएको बताउनुभयो । कांग्रेस बुढो मात्रै होइन सिद्धिने अवस्थामा पुगेको ओलीको टिप्पणी छ । ‘साँच्चै पुरानो भयो कांग्रेस पार्टी, साँच्चै थोत्रो, केही पनि गर्न नसक्ने, ८७ सिट अहिले ऊसँग होला, ८७ सिट छ तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ’, उहाँले भन्नुभयो ।
अहिले कांग्रेस निरीह र केही गर्न नसक्ने अवस्थामा पुगेको उहाँले टिप्पणी गर्नुभयो । ‘केही गर्न नसक्ने भएको छ कांग्रेस, आफूसँग कति सिट छ भन्ने पनि चाल पाउँदैन’, उहाँले भन्नुभयो ।
माधव नेपालले हामी कांग्रेसकै पछि लाग्छौ भन्न सुहाउने भए पनि कांग्रेस चाहिँ ३२ सिट हुनेका पछि किन लागेको छ भन्ने कुरा बुझ्न नसकिएको ओलीले बताउनुभयो । ‘माधव नेपालले भनेको ठिकै हो, जम्मा १० सिटे पार्टीलाई’, ओलीले भन्नुभयो ।
अहिले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेका ओलीले बताउनुभयो । माओवादी पार्टीमा मजदुरले बाटो बनायो, मोटर अर्काले कुदाएको अवस्था रहेको उहाँको भनाइ छ । ‘अहिले छोरी ज्वाइँ, अर्का छोरी ज्वाइँ, भाइ, भतिजा, भाञ्जा यस्तैको चलेको छ, यति सप्रेका छन्, माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन्, यति तड्पिएका छन् तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन सत्तासीनहरूलाई’, ओलीले भन्नुभयो ।
ओलीले प्रचण्ड नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको ओलीले बताउनुभयो । यो कुरा बुझेर पनि माओवादीलाई कांग्रेसले साथ दिइरहनु भनेको मुलुक र जनताप्रतिको मजाक भएको ओलीको भनाइ छ । ‘यति निकम्मा सरकारलाई पनि बोकिरहनु पर्ने, पछिपछि कुदिरहनु पर्ने के कारण आइलग्यो होला कांग्रेसलाई ?’ उहाँले भन्नुभयो ।
ओलीले माओवादीसँग कुनै नीति तथा कार्यक्रम नभएको बताउनु भयो । माओवादीले नराम्रो बाहेक राम्रो केही नगर्ने उहाँले दाबी गर्नुभयो ।
Comments are closed.