काठमाडौँ- कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । अर्को बैठक मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा सहभागी हुन कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि मुख्यसचिव पौडेलले अनुरोध गरेका छन् ।
१५औँ महाधिवेशनले कांग्रेस गम्भीर विवादमा फसेको छ । महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने मुख्य विवादले गत २८ असोजमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अनिर्णीत छ । बैठक स्थगित गरेर शीर्ष तहमा पटक–पटक छलफल गरिए पनि अझै सहमति जुट्न सकेको छैन ।
गत बिहीबार धारणा राख्ने क्रम सकिएपछि बैठक स्थगित हुँदै आएको छ । गत शनिबार र सोमबार बोलाइएको बैठक पनि सूचना प्रकाशित गरेर स्थगित गरिएको थियो । अब शनिबार बैठक बोलाइएको छ । तर, अझै पनि सहमति जुट्ने संकेत देखिएकोे छैन । अझै एकले अर्कालाई दबाब दिएर आफूअनुकूल निर्णय गराउने प्रयासमा नेताहरू लागेका छन् ।
गत २८ कात्तिकमा सिंगापुरबाट फर्किएपछि सहमतिका लागि सभापति शेरबहादुर देउवाले नेताहरूसँग ‘वन टु वन’ र सामूहिक छलफल गरिरहेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहमतिको प्रयासमा छन् । तर, एक हप्तासम्मको शीर्ष नेताहरूको छलफल निरर्थक बनेको छ । नेताहरूले अडान नछाड्दा सहमति जुट्न सकेको छैन ।







