महासमिति बैठकका लागि कांग्रेसले बनायो ४ समिति

काठमाडाैं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सकिएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक विभिन्न निर्णय गर्दै साेमबार सकिएकाे हाे ।
बैठकले महंगी कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका विषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
मुलुक आर्थिक समस्यामा रहेका बेला आर्थिक मितव्ययीता अपनाउने कुरामा कांग्रेस गम्भीर रहेकाले तीनै तहका सरकारले अनावश्यक संरचना निर्माण नगर्ने र गरेको खण्डमा कांग्रेसले संलग्नता नजनाउने निर्णय भएकाे उहाँले बताउनुभयाे ।
संविधान जारी भएको ८ वर्ष पुग्दा पनि आवश्यक कानुन निर्माण नहुँदा तीनै तहका सरकार अन्यौलमा रहेकाले तत्काल कानुन निर्माण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको नेता विश्वकर्माले जानकारी दिनुभयाे ।
कांग्रेस नेतामाथि भएको आक्रमणले सरकारको शान्ति सुरक्षामा नै प्रश्न खडा भएकाले जनतालाई सुरक्षाको अनुभूति हुने गरी शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।
बैठकले शिक्षक संगठनसँग भएको वार्ताको स्वागत गर्दै सहमति भएअनुसारको कानुन निर्माण गर्न सदनबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
बैठकले आसन्न महासमिति बैठकलाई सम्पन्न गर्न तीन वटा समिति गठन गर्ने निर्णय गरेको नेता विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, सहमहामन्त्री पूर्ण वहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा प्रतिवेदन तयारी समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समासामयीक राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ ।
बैठकले पार्टीले गरेका विभिन्न गरेका कार्यक्रमहरुले पार्टीलाई बलियो बनाएको निष्कर्ष निकालेको छ । हालै सम्पन्न गरेको बीपी साहित्य महोत्सवलगायत कार्यक्रमबारे समीक्षात्मक निर्णय भएको पनि उहाँले बताउनुभयाे ।

Comments are closed.