काठमाडौँ- नेपाली कांग्रेसले पदावधि सकिएका भ्रातृ संस्थाको कार्यसमिति विघटन गर्ने भएको छ। मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १३ वटा भ्रातृ संस्थामध्ये ६ वटाको कार्यसमिति विघटन गर्न लागेको हो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले केन्द्रीय कार्यसमिति बैठकमा भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिको विषय पनि छलफलको एजेन्डा बनाएका छन्। भ्रातृ संस्थामा लामो समयसम्म अधिवेशन नभएपछि २०७८ फागुनमा १० वटा भ्रातृ संस्थाको कार्यसमिति विघटन गरी तदर्थ समिति बनाइएको थियो।
तत्कालीन सभापति शेरबहादुर देउवाले २०७८ चैतमा नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई अध्यक्ष मनोनीत गरेका थिए। यस्तै देउवाले २०७९ असारमा किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र भदौ १२ मा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई मनोनीत गरेका थिए।
त्यस्तै, २०७९ साउनमा नेपाल महिला संघको अध्यक्षमा उषा राउत मिश्रलाई मनोनीत गरेका थिए। २०७९ साउन २ मा कांग्रेसले
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र लोकतान्त्रिक खेलकुद संघलाई भ्रातृ संस्थाको मान्यता दिएको थियो। कांग्रेसले भ्रातृ संस्थाहरू नेपाल राष्ट्रिय मगर संघ र नेपाल तामाङका साथै शुभेच्छुक संस्थाहरू लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ र लोकतान्त्रिक नेवाः खललाई गाभेर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाएको थियो।
नेपाल थारू संघको अध्यक्षमा शिवनारायण महतो र लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष देवेन्द्रकुमार शेरचन छन्। भ्रातृ संस्थाको मान्यता पाउनुअघि पनि थारू संघ र खेलकुद संघको नेतृत्वमा उनीहरू नै थिए। देउवाले २०८० मंसिरमा नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल, नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थलाई मनोनित गरेका थिए।
२०८० असोजमा नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनित भएका थिए। महाधिवेशन गर्ने कार्यादेशसहित ६ महिनाका लागि गठन गरिएको तदर्थ समितिले साढे तीन वर्षसम्म नेविसंघ, तरुण दल, महिला संघ, नेपाल थारू संघ, लोकतान्त्रिक खेलकुद संघ र दलित संघले महाधिवेशन गर्न सकेका छैनन्।
यस्तै, नेविसंघको ७११, तरुणको दल ४०१ र महिला संघको ५१ सदस्यीय केन्द्रीय समिति भद्रोगल अवस्थामा छ। कांग्रेसभित्र उत्पन्न विवादबाट नेविसंघ, महिला संघ र तरुण दल पनि अछुतो छैन।
योबीचमा आदिवासी जनजाति महासंघ, किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, मगर संघ, भूपू सैनिक संघ, मुस्लिम संघले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसकेका छन्। आदिवासी जनजाति महासंघको महाधिवेशनबाट ओमबहादुर घर्ती मगर अध्यक्षमा दोहोरिएका छन्। २०८१ असारमा सम्पन्न महाधिवेशनबाट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा घर्ती मगर सर्वसम्मत चयन भएका थिए।
गत भदौमा भएको किसान संघको महाधिवेशनबाट गणेश तिमिल्सिना दोहोरिएका छन् भने २०८१ चैतमा सम्पन्न राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशनबाट माधवप्रसाद चम्लागाईं अध्यक्षमा निर्वाचित भएका छन्।
यसैगरी, २०८२ फागुनमा सम्पन्न नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशनबाट बालकृष्ण दाहाल नेतृत्वमा दोहोरिएका छन् भने २०८१ फागुनमा भएको नेपाल भूतपूर्व सैनिक संघको महाधिवेशनबाट गर्जबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। २०८० असोजमा सम्पन्न नेपाल मुस्लिम संघको महाधिवेशनबाट अध्यक्षमा अताबुल मन्सुरी निर्वाचित भएका छन् भने २०८२ साउनमा नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छु राम रानामगर सर्वसम्मत चयन भएका थिए।
महाधिवेशन सम्पन्न गराएका भ्रातृ संस्थाबाहेकको कार्यसमिति विघटन गर्ने गृहकार्य भइरहेको सहमहामन्त्री प्रकाश स्नेहीले नेपालखबरलाई बताए। ‘भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिको प्रस्तावमाथि बोल्दा सबै केन्द्रीय सदस्यले पदावधि सकिएका भ्रातृ संस्था विघटन गर्नुपर्छ भनिराख्नु भएको छ। निर्णय पनि त्यही अनुसार हुन्छ होला,’ स्नेहीले भने।
देउवा पक्षका नेविसंघ अध्यक्ष शेर्पा, तरुण दल अध्यक्ष गुरुङ, महिला संघ अध्यक्ष मिश्र, दलित संघ अध्यक्ष विश्वकर्मा, थारू संघको अध्यक्ष महतो र लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष शेरचनको कार्यसमिति हटाएर सभापति गगन थापाले आफू निकटलाई नेतृत्व दिन लागेको बुझिएको छ। ‘महाधिवेशन गर्न नसकेका भ्रातृ संस्था आज विघटन हुन्छन्। नयाँ नेतृत्व केही दिनमा सभापतिले चयन गर्नुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने







Discussion about this post