काठमाडौँ – महाधिवेशनको मितिलाई लिएर बढ्दो आन्तरिक विवादले नेपाली कांग्रेस थप संकटमा परेको छ ।भोलि हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठक महाराजगञ्जमा सभापति शेरबहादुर देउवासँगको बहुपक्षीय छलफल निष्कर्षविहीन भएपछि फेरि स्थगित भएको छ ।बैठक अब पर्सि सोमबार बस्ने बताइएको छ । पछिल्ला दिनहरूमा महाधिवेशनको समय, स्वरूप र प्रक्रिया सम्बन्धी मतभेद बढ्दै गएपछि सभापति देउवा आफैंले निरन्तर भेटघाट र समन्वय गरिरहेका छन्, तर सहमति अझै अड्किएको छ ।
शनिबार देउवाले शीर्ष नेताहरूसँग गरेको छलफलमा पुस मसान्तभित्र नै नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारे । उनले भने, विशेष महाधिवेशन आवश्यक छैन, पार्टी मिलेर नियमित प्रक्रियाबाट अघि बढ्नुपर्छ।हालैको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए।
महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति ध्यानमा राख्दै विशेष महाधिवेशन आवश्यक रहेको दाबी गर्दै आएका छन्।पुसमा नै महाधिवेशन गर्ने पक्षमा रमेश लेखक, शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा छन् । तर विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले पुसमा महाधिवेशन असम्भव रहेको बताएका छन् ।







