अध्यक्ष ओलीमाथि लगाएको आरोपमा कांग्रेसले माफी माग्नुपर्छ, नत्र प्रतिवादमा उत्रन्छौं : विष्णु पाैडेल

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नेपाली कांग्रेसले आधारहीन, अराजनीतिक र प्रतिशाेधपूर्ण आराेप लगाएकाे भन्दै कडा आपत्ति जनाएकाे छ ।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलले एमाले विरुद्ध लगाइएका आधारहीन, अराजनीतिक र प्रतिशाेधपूर्ण लाञ्छना सह्य नहुने चेतावनी दिनुभयाे ।

एमाले विरुद्ध असान्दर्भिक, अनुचित, आधारहीन र पूर्वाग्रहपूर्ण आराेप लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथाेल्ने काममा कांग्रेस  लागेकाे उहाँले बताउनुभयाे । ‘विशेषगरी असान्दर्भिक, अनुचित, आधारहीन र पूर्वाग्रहपूर्ण आराेप लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथाेल्ने काममा कांग्रेस लागेकाे छ पछिल्लाे दिनमा एमाले विशेषगरी हाम्राे पार्टीका श्रदेय अध्यक्ष विरुद्ध प्रायाेजित, पूर्वाग्रही, तथ्यहीन  गलत, भ्रामक, प्रतिशाेधपूर्ण, आधारहीन लाञ्छनाकाे बहुछार गरिरहेका छन्, म कांग्रेसलाई यसप्रकारकाे आधारहीन, अराजनीतिक र प्रतिशाेधपूर्ण लाञ्छनाबाट पछि हट्न अनुराेध गर्दछु’- उपाध्यक्ष पाैडेलले भन्नुभयाे ।

एमाले विरुद्ध लगाइएका अभिव्यक्तिबाट कांग्रेस पछि नहटे राजनीतिक रुपमा प्रतिकार गर्ने चेतावनी दिँदै उहाँले भन्नुभयाे -‘यदि कांग्रेस आफ्ना यस प्रकारका अभिव्यक्तिबाट पछि हट्दैन भने, एमाले यस्ता अभिव्यक्ति विरुद्ध राजनीतिक रुपमा प्रतिवादमा उत्रिन्छ भन्ने बुझ्न जरुरी छ ।’

एमाले र एमाले अध्यक्ष ओलीमाथि लगाएका अराजनीतिक र पूर्वाग्राहीपूर्ण आराेपमा कांग्रेसले लिखित रुपमा क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नुपर्ने उपाध्यक्ष पाैडेलले बताउनुभयाे । ‘एमाले र एमालेका अध्यक्ष विरुद्ध तार्गेट गरेर जुन प्रकारका अराजनीतिक, पूर्वाग्राहीपूर्ण आराेप लगाइरहेकाे छ कांग्रेसले याे आराेपप्रति लिखित रुपमा क्षमायाचना गर्नुपर्छ, सार्वजनिक रुपमा माफी माग्नुपर्छ, अन्यथा कांग्रेससँगकाे हाम्राे सम्बन्ध ठिक ढंगले अगाडि बढ्दैन, एमाले यस प्रकारका अराजनीतिक र प्रतिशाेधपूर्ण आराेप सुनेर बस्ने पक्षमा छैन भन्ने कांग्रेसले बुझाेस्’- उहाँले भन्नुभयाे ।

कांग्रेस कुनै सहमतिकाे पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रमले पुष्टि गरेकाे उपाध्यक्ष पाैडेलले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘नेपाली कांग्रेस कुनै सहमतिकाे पक्षमा समस्या समाधानकाे पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रम र अभिव्यक्तिहरुले संकेत गरिरहेका छन् ।’

संसदीय समितिकाे विषयमा सार्थक संवादका माध्यमबाट सहमतिमा पुग्नुपर्नेमा एमालेकाे काेशिस रहेकाे भन्दै उपाध्यक्ष पाैडेलले कांग्रेस त्याे काेशिसलाई बिथाेल्ने काममा उद्दत  भइरहेकाे बताउभयाे ।

Comments are closed.