चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कार घोषणा गरेको छ ।

प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको ‘धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना’ पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ । ‘बालकिशन,नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना’ पुरस्कार भानुभक्त जोशी (बझाङ), ‘ओमप्रकाश गोयल समाजसेवा चेतना’ पुरस्कार इन्दिरा राना मगर (झापा)लाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिनुभयो ।

राना मगर प्रतिनिधिसभाकी उपसभामुखसमेत हुनुहुन्छ । पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै ५१ हजार राशिकै ‘नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकार कमल पौडेल (मोरङ), ‘भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार सन्तोष पन्त (काठमाडौं), ‘डा. नरेन्द्र, योगमाया, भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार’ युवा प्रतिभा रामजी राम (रौतहट), ‘केदारनाथ, मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार’ बालप्रतिभा आभाष ढकाल (स्याङ्गा) लाई प्रदान गरिने भएको छ । साहित्यबाहेक सबै पुरस्कारको राशि जनही ५१ हजार रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार घोषित सबै पुरस्कार यही माघ २६ गते शनिबार विराटनगरमा विशेष समारोहको आयोजना गरी समर्पण गरिनेछ ।

Comments are closed.