निजी क्षेत्रको सहयोग र सहकार्य बिना देश विकास सम्भव छैन: प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहयोग र सहकार्य बिना देश विकास सम्भव नभएको बताउनुभयो । निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने गरी सरकारले नीतिहरू अवलम्बन गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निजी क्षेत्रविना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागी हुनुभएको थियो । भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताउनु भयो । ढकालले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको विस्तारबाट मात्रै अर्थतन्त्रमा सुधार सम्भव रहेको बताउनुभयो ।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रंकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्बाध र सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न उहाँहरूले अनुरोध गर्नुभयो । सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तीय पहुँचका लागि विशेष पहल गर्न पनि उहाँहरूले अनुरोध गर्नुभयो ।

Comments are closed.