कोशी प्रदेशमा डेंगु : ९ जनाको मृत्यु, ७ हजार बिरामी

धनकुटा : कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु फैलिँदै गएको छ। डेंगुबाट बुधबारसम्म ९ जनाको मृत्यु भएको छ भने ७ हजारभन्दा बढी बिरामी भएका छन्।

मृत्यु भएका सबै जना सुनसरीका रहेका छन्। कोशीका १३ जिल्लामा अहिलेसम्म ७ हजार २७३ जना डेंगुका बिरामी भेटिएका छन्।

कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा डेंगु फैलिएको छ। सोलुखुम्बु जिल्लामा भने डेंगु देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ।

कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगुका बिरामीको संख्या बढी देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारीअनुसार कोशी प्रदेशमा डेंगका सबैभन्दा बढी बिरामी सुनसरीमा छन्।

स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतका अनुसार सुनसरीमा ४ हजार ८७४, मोरङमा १ हजार १७१, झापामा ५६४, उदयपुरमा १९२ र धनकुटामा १३४ जना डेंगुका बिरामी देखिएका छन्।

भोजपुरमा ९८, सङ्खुवासभामा ९७, तेह्रथुममा ६७, इलाममा ३८, पाँचथरमा १६, ताप्लेजुङमा १२, ओखलढुङ्गामा ६ र खोटाङमा ४ जना डेंगुका बिरामी रहेको उनले बताए।

डेंगु तीव्र गतिमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले बताए।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिइन्।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले फैलँदै गएको डेंगुलाई मद्देनजर गरी कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिएको छ।

Comments are closed.